पोखरा — समयमै संरक्षणमा चासो नदेखाउँदा लेकसाइडस्थित ताल वाराही माविको जग्गा हराएको छ । केही जग्गा स्थानीयले अतिक्रमण गरेको र सडक विस्तार स्कुलकै जग्गामा मात्र गरिँदा ठूलो क्षेत्रफल गुम्न पुगेको हो ।
पोखरा ६ डिहीकोपाटनमा ११ रोपनी ५ आना ३ दामको जग्गा विद्यालयको स्वामित्वमा थियो । ०३७ सालमा तत्कालीन नगर पञ्चायतले उक्त जग्गा उपलब्ध गराएको हो । तत्काल कित्ता नम्बर ३२१० रहेको उक्त जग्गा हाल कित्ता नम्बर ४५ कायम छ । ०७२ मा हालसाबिक गर्दा जग्गा घटेर ६ रोपनी १५ आना मात्रै देखिएपछि आफ्नो जग्गा हराएको विद्यालयले थाहा पाएको हो । ‘एक रोपनी जति जग्गा व्यक्तिले अतिक्रमण गरेका छन् ।
थुप्रै जग्गा सडक विस्तारका क्रममा स्कुलको मात्रै चेपियो,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम शर्मा पहारीले भने, ‘जग्गा फिर्ता गराउन जनप्रतिनिधिले पहल गर्नुपर्यो ।’ उक्त क्षेत्रमा एक रोपनी जग्गाको १० करोड रुपैयाँसम्म मूल्य छ ।
जग्गामा विद्यालयले ०६३ मा १२ वटा सटर बनाई भाडामा दिँदै आएको छ । भाडाले स्कुलले निजी स्रोतका शिक्षक कर्मचारीको तलब, भत्तासहित भौतिक निर्माण र मर्मतमा खर्च गर्दै आएको छ । तर पछिल्लो समय त्यसको भाडाले मात्र खर्च व्यवस्थापनमा कठिनाइ भएपछि दक्षिणतर्फ ३० फिट चौडाइ र १ सय ३० फिट लम्बाइमा अस्थायी ट्रस्ट र व्यावसायिक भवनको छतमा अर्को ट्रस्ट बनाई भाडामा दिने तयारीमा विद्यालय छ ।
स्थानीयलाई असर नपर्ने र वरपरको वातावरणमा पनि समस्या नहुने गरी ट्रस्ट बनाउने, बाँकी जग्गा संरक्षणका लागि तारबार लगाउने, आवश्यकतानुसार खेलमैदान वा पार्कको रूपमा विकास गर्ने गरी बोलपत्र आहानसमेत गरेको थियो ।
त्यसमा विपुल कन्स्ट्रक्सनलाई टेन्डर परेको र काम गर्ने क्रममा स्थानीयबाट अवरोध भएको विद्यालयले जनाएको छ । ‘यसै त जग्गा घटेको र फेरि अस्थायी संरचना बनाउन खोज्दा स्थानीयबाट विरोध भएपछि जग्गा खोजीका लागि महानगरपालिका, वडाध्यक्षलगायत जनप्रतिनिधिलाई भनियो तर सुनुवाइ भएको छैन,’ अध्यक्ष पहारीले शुक्रबार पत्रकार सम्मेलनमा भने । वडा नम्बर ६ का अध्यक्ष जगतबहादुर पहारीले विद्यालयको जग्गा नै कम रहेको भन्दै हिँडेकाले जग्गा अतिक्रमण गर्ने स्थानीयकै संरक्षणमा लागेको आरोप उनले लगाए ।
ठेकेदारले संरचना बनाउने क्रममा वडाध्यक्ष पहारीले नै काम रोक्न भनेपछि आफूहरू अचम्मित भएको र ६ रोपनी १५ आना जग्गामै सीमित राख्ने सक्रिय भएको ठम्याइ विद्यालयको रहेको उनले बताए ।
वडा सदस्य तथा विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णुबहादुर भट्टराईले विगतमा विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनकै कमजोरीले जग्गा हराएको बताए । ‘जग्गा मिच्नेबाटै अहिले विरोध भएको छ । स्कुलले आफ्नो जग्गा नखोजोस् भन्ने चाहना पनि छ,’ उनले भने, ‘मिच्ने व्यक्ति नै स्कुलमा आएर जग्गाको क्षतिपूर्ति दिए राम्रो हुन्थ्यो । वडाध्यक्षले यसमा पहल गर्न जरुरी छ ।’
विद्यालय व्यवस्थापन समिति नभएको र स्कुलको प्रशासन कमजोर भएका बेला जग्गा मिचिएको विद्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जनाइएको थियो । सडक पनि स्कुलकै जग्गामा मात्रै विस्तार गरिएको प्रधानाध्यापक भद्रकाली लामिछानेले बताइन् । यसमा सम्बन्धित निकायले स्कुललाई कुनै जानकारी नदिएको उनको भनाइ छ । ‘शैक्षिक कार्यक्रममा लाग्दा जग्गातर्फ ध्यान दिन सकिएन । विद्यालयलाई पनि सबैतिरबाट हेप्ने काम भयो,’ उनले भनिन् ।
पोखरा ६ का वडाध्यक्ष जगतबहादुर पहारीले विद्यालयको योजनाप्रति स्थानीयले विरोध गरेको र समाधानका लागि वडाले पहल गरे पनि टुंग्याउन नसकिएको बताए । अस्थायी संरचना बनाउन पनि महानगरको स्वीकृति चाहिने तर स्कुलले नबनाएको उनको भनाइ थियो । ‘स्थानीयले संरचना बनाउन महानगरको स्वीकृति खोजेपछि मुठभेडको अवस्था आएकाले सहमतिमा टुंग्याउने भनेर म पनि लागेको हुँ तर कुरा मिलेन,’ उनले भने, ‘सबै काम वडाले गर्नुपर्छ भन्ने विद्यालयको माग छ । तर म एक्लैले गर्न सक्ने कुरा होइन ।’ उनले लालपुर्जा अनुसारको जग्गा नभएकाले केही जग्गा हराएको र प्राविधिक कारणले त्यस्तो भएको पनि हुनसक्ने उनले बताए । ७५ वर्षअघि स्थापना भएको स्कुलमा हाल कक्षा १ देखि १२ सम्म ८ सय ३३ विद्यार्थी छन् । २७ निजी स्रोतका शिक्षक कार्यरत छन् ।