• Rental Nepal is Complete Real Estate Solution for Nepal

वाणिज्य बैंकहरूले अनुत्पादक क्षेत्रमा नयाँ ऋण नदिने

यज्ञ बञ्जाडे, काठमाडौं

माघ २८, २०७३- वाणिज्य बैंकहरूले केही समयका लागि अनुत्पादक क्षेत्रमा नयाँ ऋण प्रवाह नगर्ने भएका छन् । बढदो तरलता अभावले लगानीयोग्य रकममा कमी भएको र ब्याजदर धेरै माथि पुगिसकेकाले केही समयका लागि रियल इस्टेट, सवारी साधन (हायर पर्चेज), सेयरलगायत क्षेत्रमा नयाँ कर्जा प्रवाह नगर्ने आन्तरिक सहमति भएको बैंकर्स संघका एक सदस्यले बताए ।

बिहीबार बसेको बैंकर्स संघको बैठकमा उक्त सहमति भएको हो । ‘बैंकहरूको संघले यो क्षेत्रमा कर्जा दिऊँ, यो क्षेत्रमा नदिऊँ भनेर निर्णय गर्न मिल्दैन,’ ती सदस्यले भने, ‘यसकारण राष्ट्र बैंकको चासोलाई मध्यनजर गर्दै केही समयका लागि अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह नगर्ने आन्तरिक सहमति गरेका हौं ।’ हाल बैंकहरूसँग थप कर्जाका लागि पैसा नभएको अवस्थामा यस्तो निर्णय हुनुले खासै अर्थ नराख्ने उनको भनाइ थियो । ‘अधिकांश बैंकहरूले केही साताअघिदेखि नै ती क्षेत्रमा ऋण दिएका छैनन्,’ ती सदस्यले भने ।

तरलता अभावको बहानामा बैंक तथा वित्तीय संस्थाले मनपरी ढंगले ब्याज बढाएको, अनुत्पादक क्षेत्रमा कुल कर्जाको ९० प्रतिशतभन्दा बढी कर्जा प्रवाह गरेको, साधारण बचतमा ब्याज नबढाएकोलगायत कारण वित्तीय क्षेत्रमा विकृति ल्याएको भन्दै बुधबार राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थालाई सुध्रिन निर्देशन दिएका थिए । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी आबद्ध संघका अध्यक्षहरूलाई राष्ट्र बैंकमा बोलाएर उक्त निर्देशन दिँदै नसुध्रिए कडा कारबाही गरिने जनाएका थिए । भोलिपल्ट (बिहीबार) आकस्मिक रूपमा बसेको संघको बैंठकले अनुत्पादक क्षेत्रमा नयाँ ऋण प्रवाह नगर्ने निर्णय गरेको हो ।

यस्तै राष्ट्र बैंकले बिहीबार पनि तीनवटै बैंकर्स संघहरूलाई पत्र पठाएर अनुत्पादक क्षेत्रमा धेरै कर्जा प्रवाह भएकामा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । यथाशीघ्र उक्त क्षेत्रमा गएको कर्जा नियन्त्रण नगरिए कानुनबमोजिम कारबाही गरिने राष्ट्र बैंकले दोहोर्‍याएको छ । राष्ट्र बैंकको निर्देशनपछि मनपरी ढंगले ब्याजदर नबढाउने, अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह नियन्त्रण गरिने, बचतको ब्याजदर बढाउनेलगायत विषयमा संघले छलफल गरेको हो ।

‘राष्ट्र बैंकको निर्देशनबमोजिम अनुत्पादक क्षेत्रमा कर्जा नियन्त्रण गर्ने निर्णय गरेका हौं,’ संघका पूर्व अध्यक्ष राजनसिंह भण्डारीले भने, ‘यसअघि नै स्वीकृत भइसकेका कर्जा प्रवाह गरी नयाँ कर्जा प्रवाहमा नियन्त्रण गर्नु हाम्रो उद्देश्य हो ।’

निरन्तर रूपमा ब्याजदर बढ्दा त्यसको प्रभाव समग्र अर्थतन्त्रमा पनि पर्ने भएकाले यस्तो निर्णय गरिएको उनले जनाए ।

संघको बैंठक मुख्य गरी बैंकहरूमा देखिएको ब्याजदर विसंगति र अनुत्पादनशील क्षेत्रमा बढदो कर्जा प्रवाह नियन्त्रण गर्ने विषयमा केन्द्रित भएको संघका उपाध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । ‘ब्याजदरको विसंगति हटाऊँ, अस्वस्थ प्रतिस्पर्धा नगरी संयमित भएर व्यवसाय गरौं भन्ने विषयमा छलफल गर्‍यौं,’ उनले भने, ‘राष्ट्र बैंकको चाहना पनि त्यही हो ।’

बुधबार बैंकरहरूसँगको भेटमा राष्ट्र बैंकले ऋणयोग्य रकमको अभावमा प्रवाह भइरहेको कर्जामा एकैपटक ५/६ प्रतिशत विन्दुसम्मको उच्च वृद्धि देखिएकामा आफ्नो ध्यानाकर्षण भएको जनाएको थियो । यस्तै मुद्दती निक्षेपको ब्याज धेरैले बढदा पनि बैंक तथा वित्तीय संस्थाले बचतको ब्याज नबढाएकाले ती बचत योजनाको ब्याज बढाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

यही निर्देशनको आधारमा बैंकहरूले बैठकमा बचतको ब्याजदर बढाउनेबारेमा पनि छलफल भएको संघले जनाएको छ । ‘साधारण बचतको ब्याज बढाउने विषयमा कुरो उठे पनि बढाउने विषयमा कुनै बैंकले आवाज उठाएनन्,’ स्रोतले भन्यो, ‘बैंकहरू सकेसम्म बचतको ब्याज नबढाउने पक्षमा छन् । यताउति गरी राष्ट्र बैंकको निर्देशन छल्ने उनीहरूको उद्देश्य हो ।’

बैंठकमा मुद्दती निक्षेपको ब्याजदर १२ प्रतिशतमाथि नलाने विषयमा धेरै छलफल भए पनि टुंगोमा पुग्न सकेन । ब्याजदरको विषयमा यसअघि भएका सहमति कार्यान्वयन नभएकै कारण यो विषय सहमतिमा पुग्न नसकेको हो । निक्षेपको ब्याजदर धेरै माथि पुगिसकेकाले ५ प्रतिशत स्प्रेडको सीमाभित्र रहेर काम गर्न अप्ठेरो हुने भएकाले मुद्दती निक्षेपको ब्याजदर नियन्त्रण गर्ने विषयमा बैंकहरू एकमत भएको स्रोतले बताएको छ ।

निक्षेप संकलनको तुलनामा ऋण प्रवाह धेरै भएपछि बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम अभाव भएको छ । परिणाम अधिकांश बैंक तथा वित्तीय संस्थाको सीसीडी रेसियो (कर्जा/प्राथमिक पुँजी तथा निक्षेप) ८० प्रतिशत माथि पुगिसकेको छ । यही कारण धेरै बैंक तथा वित्तीय संस्थाले सबै क्षेत्रको कर्जा प्रवाह रोकेका छन् । तीमध्ये पनि सेयर, रियल इस्टेट, सवारी साधनलगायत क्षेत्रमा अधिकांश बैंकहरूले स्वीकृत भएको कर्जासमेत पनि दिएका छैनन् । यद्यपि पछिल्लो समय राष्ट्र बैंकले बोलाएरै नै अनुत्पादक क्षेत्रमा कर्जा रोक्न नैतिक दबाब दिएपछि बैंकहरूले औपचारिक रूपमै निर्णय गर्न बाध्य भएका हुन् ।

 

प्रकाशित: माघ २८, २०७३

http://kantipur.ekantipur.com/news/2017-02-10/20170210084836.html

img

Rental Nepal

RealtyNepal.com helps to manage for Real Estate, Commercial & Residential House, Apartment, Shutter, Office Space, Hostel/Home Stay etc. These services will be provided in a scientific, practical and decent way by making RealtyNepal.com a contact centre. It is a well known fact that people are quite busy these days. So, they need quick but reliable services. The main purpose of Realty Nepal is to help them providing such services. The selection of the name Real Estate itself suggests so. In addition, information related to above mentioned services including both positive and negative sides will be posted on this site. Constructive comments are always welcome to make the services more reliable. Thank You

Related posts

  • News

Banks halt loans for automobiles, real estate

Kathmandu, February 9 HIMALAYAN NEWS SERVICE Decide to stop extending credit against...

Continue reading
Rental Nepal
by Rental Nepal
  • News

Real estate demand growing

SUJATA AWALE Photo: THT Compared to the same period last year demand has grown by 200...

Continue reading
Rental Nepal
by Rental Nepal
  • News

EDITORIAL: Regulate real estate

THE HIMALAYAN TIMES The government agencies should not do anything that may go counter to the...

Continue reading
Rental Nepal
by Rental Nepal

Join The Discussion