• Rental Nepal is Complete Real Estate Solution for Nepal

बैंकिङ तरलताले बढाएको जोखिम

बैंकिङ तरलताले बढाएको जोखिम

Dr. Prem Dangal

माघ २८, २०७३- बैंकहरूमा तरलताको अभाव हुनमा चारवटा पक्ष औंल्याइएको छ । ती हुन् : बैंकमा निक्षेपको कमी, घट्दो विप्रेसन, कर्जाको माग बढी र सरकारी विकास खर्च हुन नसक्नु । तर सरकार र राष्ट्र बैंक भने तरलता अभाव नभएको बताउँछन् । यदि यसो भएमा पनि बैंकहरूले अनुत्पादक क्षेत्रमा व्यापक लगानी गरेर भएको हो भन्ने दाबी छ । यसमा खासगरी घरजग्गा, गाडी तथा सेयर खरिद समेतका अनुत्पादक क्षेत्रमा भएको लगानी नै तरलता अभावको जिम्मेवार हो । यस्तो अनुत्पादक क्षेत्रमा गरिने लगानीले तरलतासमेत अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा यहाँ विश्लेषण गर्ने प्रयास गरिएको छ ।

लगानीकर्ताले भविष्यमा अर्थतन्त्र उतारतर्फ जान्छ भन्ने अनुमानको आधारमा लगानी गर्छन् । त्यस्तो स्थितिमा पुँजीको माग बढ्छ, उद्यमीहरू लगानीमा आकर्षित हुन्छन् । लगानी ज्यादै बढी भएपछि बैंकको व्याजदर पनि बढ्छ । लगानीमा कम नाफा हुँदाहुँदै पनि भविष्यमा सम्पत्तिको मूल्य बढ्ने अनुमानमा लगानी बढाउने निर्णयमा वित्तीय संस्था पुग्छन् । लगानी पनि कतिपय बेलामा धितो मूल्याङ्कनका आधारमा गरिँदैन र निक्षेपको शतप्रतिशत समेत लगानी गर्न बैंकहरू उद्यत देखिन्छन् । यसरी अन्धाधुन्द लगानी गरेपछि बजारमा मन्दी आउँछ ।

सन् २००८ ताका अमेरिकामा आएको आर्थिक संकटको सुरुवात आजको हाम्रो मुलुकमा भएको अवस्था जस्तैबाट सुरु भएको थियो । अमेरिकामा बैंक, वित्तीय संस्थाहरू घर—जग्गाको मूल्य कहिल्यै घट्न नसक्ने निष्कर्ष निकाल्दै जथाभावी लगानी गर्न पुगे । त्यो निष्कर्ष पनि सही नै थियो । किनभने घर—जग्गाको मूल्य अमेरिकामा त्यसबेलासम्म घटेको इतिहास नै थिएन । अमेरिककामा ९० को दशकयता प्रत्येक वर्ष ५ देखि १० प्रतिशतले घर—जग्गाको मूल्य बढेको थियो । यही विश्वासका आधारमा बैंकहरूले व्यापारिक भवन र जग्गाजमिनमा लगानी गरे । तर घर, जग्गा बिक्री भएनन् ।

कारोबार सोचेअनुसार हुन नसक्दा लगानी फिर्ता भएन । ऋणीले ऋण तिर्न सकेनन् । परिणाम बैंक तथा वित्तीय संस्थामा नगदको ठूलो अभाव भई नयाँ कर्जा प्रवाह हुन छोड्यो । यस्तो अवस्थामा बैंक, वित्तीय संस्था, विमा, अन्य कम्पनीहरूको समेत सेयर मूल्य घट्न थाल्यो । घाटा हुने भयले कसैले पनि नयाँ लगानी गर्न तत्पर भएनन् । अर्थतन्त्र मन्दीबाट गुज्रिन थाल्यो । कर्मचारी कटौती हुनथाल्यो, कम्पनीको सेयर कारोबार गरेर अर्बपति हुनेहरू टाट पल्टिए । त्यसको प्रभाव अमेरिका बाहिरसमेत पर्‍यो । यही कारणले विश्वमा आर्थिक संकटसमेत आयो । यो समस्याबाट उम्किन सरकारले ठूलो मात्रामा बैंकको सेयरमा लगानी गर्‍यो । सरकार वित्तीय संस्थाहरूको राष्ट्रियकरण गर्नसमेत बाध्य भए ।

घर, जग्गामा गरेको लगानी प्राय: अनुत्पादक र बढी जोखिममूलक हुन्छ । यसलाई सब प्राइम मोर्टगेज लोन अर्थात कमसल घर—जग्गा ऋण (दुई नम्बरी घर—जग्गा सापटी) वा लगानी हो, जुन अस्वाभाविक प्रकृतिको हुने गर्छ । यस्तो खालको ऋण दुनियाँमा अस्तित्वमा भए पनि अमेरिकामा भने सन् ९० को दशकदेखि व्यवहारमा आएको थियो । यो कर्जा चार प्रकारका हुन्छन् । पहिलो— विभिन्न विषयमा क्रेडिटको रूपमा लगानी गर्ने, दोस्रो— धितोमा लगानी गर्ने, तेस्रो— अटो ऋण र चौथो— क्रेडिट कार्ड हुन् । यो समूहमा रहेका ऋणीहरूको आयस्तर कमजोर हुन्छ । लगानीको अनुभव हुँदैन । बैंकिङ कारोबारको र व्यापार व्यवसायको लामो इतिहास हुँदैन । त्यसैले बैंकहरूले यो समूहमा लगानी गर्दा अन्य चलनचल्तीको व्याजदरभन्दा बढी लिने गर्छ । वित्तीय संस्थालाई पनि जोखिम हुन्छ, किनभने ऋण डुब्ने सम्भावना रहन्छ ।

सिद्धान्तत: लगानी स्वाभाविक भए त्यस्तो कुनै मन्दीको सामना गर्नु पर्दर्ैन्थ्यो । धितोका आधारमा, आयस्तरका आधारमा, प्रतिष्ठाको आधारमा ऋण पाउनु स्वाभाविक छ । तर आयस्तर नभएका हैसियत र साख नभएकाले ऋण पाउने कुरा स्वाभाविक मात्र हैन, त्यो व्यापार व्यवसायको मान्यता विपरीत विषय हो । किनभने व्यापार व्यवसाय नाफाका लागि गरिन्छ । तर यो विषयमा सिधै घाटाको व्यापार गरेको देखिन्छ ।

यो घाटाको व्यापार भविष्यमा ठूलो लाभ लिने आकांक्षाका साथमा भएको थियो । लगानीमा पूर्ण भरोसा गर्नसक्ने अवस्थामा लगानीकर्तालाई थोरै व्याज उपलब्ध भए पनि त्यो दिगो हुन्छ । तर साख नभएका र कमसल धितोमा ऋण दिनुपर्दा त्यस्तो ऋणको सस्तो र चलनचल्तीको व्याजदरभन्दा बढी व्याजदर हुने गर्छ । कमसल आय भएका वा साख नभएका व्यक्तिहरूलाई उच्च व्याजदरमा घर—जग्गा खरिद गर्न प्रदान गरिने ऋणलाई सब प्राइम मोर्टगेज लोन (कमसल घर—जग्गा ऋण) भनिन्छ ।

यस्तो अवस्थामा घर—जग्गा खरिद गर्नेको सङ्ख्या ह्वात्तै बढेर गयो । बैंकहरूले पनि यो अवसरलाई छोपी आफ्नो क्षमता र आवश्यकताभन्दा ज्यादै बढी यस्तो कर्जामा लगानी गरे । हुँदा—हुँदा यस्तो कर्जा तिर्न सक्ने अवस्था आएन । यो कर्जा खराब कर्जाको अवस्थामा रह्यो । लगानीदाताले ऋण तिर्न नसकेपछि लगानीकर्ता बैंकहरूले आफ्नो लगानी डुब्न नदिन घर—जग्गा आफै सकार्नुको विकल्प रहेन । ऋण तिर्न नसकेपछि ऋणीहरू टाट पल्टिए । यस्तो अवस्थामा घर—जग्गाको मूल्य यसरी ओरालो लाग्यो कि त्यो कसैले अनुमानसमेत गरेका थिएनन् । असल ऋण दिँदाभन्दा कमसल ऋण र लगानीले बैंकलाई नाफा हुने भएकाले यसैमा लगानी बढ्न थाल्यो । पुँजी यसै क्षेत्रमा केन्द्रित हुनथाल्यो ।

​यदि मुलुकमा अहिले देखिएको भनिएको तरलताको अभाव साँच्चै भएकै हो भने त्यसले आर्थिक क्षेत्रका अन्य आयामहरूमा प्रभाव पार्न सक्छ । किनभने सस्तो व्याजदरमा कर्जा लिने ऋणीले बढ्दो व्याजदर अनुसार कर्जाको किस्ता तिर्न सक्दैन । विस्तारै यो कर्जा खराब कर्जामा परिणत हुनपुग्छ । कर्जा लिई सुरु गरिएका विकास परियोजनाहरूमा थप लगानी प्रवाह हुन नसकेपछि काम अवरुद्ध हुनपुग्छ । हुँदै जाँदा रोजगारी सिर्जना, उत्पादनमा कमी, विकास निर्माण सुरुवात नहुने, भएका सम्पन्न हुन नसक्ने र समग्रमा समष्ट्रिगत अर्थतन्त्रमा समेत असर पर्छ । व्यापार र वाणिज्यका क्षेत्रमा मन्दी आउँछ । उत्पादन लागत बढ्छ । परिस्थिति बिग्रिँदै जाँदा मुलुकमा आर्थिक सङ्कट नआउला भन्न सकिन्न ।

अझ वित्तीय घाटाका कारण अनुदानमा व्यापक कटौती, सामाजिक क्षेत्रको खर्चमा कटौती गर्नुपर्ने, करको दर वृद्धि गर्नुपर्ने अवस्था पनि नआउला भन्न सकिन्न । किनभने सरकारी विकास खर्च रातारात गरी बजारमा तरलता बढाउन सकिँदैन । विप्रेसनमा आएको कमीलाई पनि तत्कालै टार्न सकिन्न । बजारमा नगद नै नभएपछि निक्षेपमा जतिसुकै व्याजदरको घोषणा गरे पनि त्यो काम लाग्दैन । कर्जाग्राहीले सोचेभन्दा बढी नै व्याजदरमा पनि कर्जा प्राप्त गर्न कठिनाइ हुनेछ । त्यसैले तरलता अभावको अवस्थालाई व्याजदर बढाउँदैमा सम्बोधन हुँदैन । मर्जरको विकल्पले पनि प्रभावकारी काम गरेको देखिएन । बैंकहरू पुँजी बढाउन लागेका कारणले कर्जामा ज्यादै दबाब पर्‍यो ।

अर्थ व्यवस्थालाई ठिक दिशामा लान केन्द्रीय बैंकको भूमिका महत्त्वपूर्ण हुन्छ । केन्द्रीय बैंकले व्याज निर्धारण, लगानी नीतिगत मार्गनिर्देशन, सार्वजनिक ऋण उठाउने, ऋणको दर घटाउने, बढाउनेगरी बजारलाई नियमन गरेको हुन्छ । केन्द्रीय बैंकले बैंकहरूलाई संरक्षण पनि गर्छ । यस्तो अवस्थामा बैंकहरू आफ्नो औकातभन्दा बढी मात्रामा लगानी गर्न आकर्षित हुन्छन् । केन्द्रीय बैंकले कतिपय बेलामा आफू जमानी बसी बढी लगानी गर्नमा थप प्रोत्साहन गर्छन् ।

आवश्यकता परेको बेला पुँजीको जोहोसमेत केन्द्रीय बैंकले गरिदिने कारणले बैंकहरू ज्यादै हौसिएर लगानी गर्छन् । यस्तो स्थितिमा लगानी सधैं प्रतिस्पर्धी नहुन पनि सक्छ । प्रतिस्पर्धा कम भएका क्षेत्रहरूमा पनि बैंकहरू लगानी गर्न पुग्छन् । यस्तो अवस्थामा लगानीले उच्च मुनाफा त के साँवासमेत उठ्न सक्ने अवस्था रहन्न । बैंकहरूसँग मौज्जातमा कमी आउँछ । लगानी खराब ऋणमा परिणत हुन्छ ।

परिणाम बैंकहरू टाट उल्टिन थाल्छन् । अर्थतन्त्र डामाडोल हुनपुग्छ । यस्तो अवस्थामा सरकारी हस्तक्षेप अपरिहार्य हुन्छ । कतिपय बेला सरकारी हस्तक्षेप प्रभावकारी र उत्पादकमूलक हुन्छ भने अन्य कतिपय बेलामा प्रत्युत्पादक । तर यो कुरा प्राय: बजारले निर्धारण गर्ने गर्छ । अमेरिकाले संकट पर्दा सरकारी हस्तक्षेपमार्फत आफ्नो अर्थतन्त्रलाई बचाएको थियो । अमेरिकाले ७ सय विलियन अमेरिकी डरलको वित्तीय राहत प्याकेज ल्याई वित्तीय संस्थाहरूलाई वेल आउट गरेको थियो । त्यो अवस्था हाम्रो अर्थ व्यवस्थाले भोग्नु नपरोस् । बेलैमा सचेत होऔं ।

दंगाल युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष हुन् । 

प्रकाशित: माघ २८, २०७३

http://kantipur.ekantipur.com/news/2017-02-10/20170210073746.html

img

Rental Nepal

RealtyNepal.com helps to manage for Real Estate, Commercial & Residential House, Apartment, Shutter, Office Space, Hostel/Home Stay etc. These services will be provided in a scientific, practical and decent way by making RealtyNepal.com a contact centre. It is a well known fact that people are quite busy these days. So, they need quick but reliable services. The main purpose of Realty Nepal is to help them providing such services. The selection of the name Real Estate itself suggests so. In addition, information related to above mentioned services including both positive and negative sides will be posted on this site. Constructive comments are always welcome to make the services more reliable. Thank You

Related posts

  • News

Banks halt loans for automobiles, real estate

Kathmandu, February 9 HIMALAYAN NEWS SERVICE Decide to stop extending credit against...

Continue reading
Rental Nepal
by Rental Nepal
  • News

Real estate demand growing

SUJATA AWALE Photo: THT Compared to the same period last year demand has grown by 200...

Continue reading
Rental Nepal
by Rental Nepal
  • News

EDITORIAL: Regulate real estate

THE HIMALAYAN TIMES The government agencies should not do anything that may go counter to the...

Continue reading
Rental Nepal
by Rental Nepal

Join The Discussion